नेपालमा नयाँ भेरियन्ट ओमिक्रोन भेटीएपछि स्वास्थ्य मन्त्रालय थाल्यो यस्तो तयारी

 

नेपालमा नयाँ भेरियन्ट ओमिक्रोन भेटीएपछि स्वास्थ्य मन्त्रालय थाल्यो यस्तो तयारी

Leave A Comment

नेपालमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा यसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दक्षिण अफ्रिकाबाट आएका दुईजनामा संक्रमण पुष्टि भएको बताए। जसमा ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एक व्यक्ति रहेका छन्। उनीहरू दुवैले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका र पिसिआर रिपोर्ट पनि नेगेटिभसहित नेपाल प्रवेश गरेका मन्त्रालयले जनाएको छ।

उनीहरु दुवैलाई आइसोलेसनमा राखिएको र अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ। ६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए। उनीसँग नजिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति र स्वयं आफैलाई मंसिर ७ गते कोभिड-१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिएपश्चात परीक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो।

परीक्षणमा पोजेटिभ आएकाहरुको एस-जीन परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवैजनाको नमुनामा एस-जीन फेला परेको थिएन। एस-जीन फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा मंसिर १९ गते (आइतबार) राति नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको हो।

मन्त्रालयले दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरुको बृहत कन्ट्याक्ट ट्रेसिङ गरिएको, कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त ६६ जनाको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको बताएको छ।

यससँगै नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङको कार्यलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ। कोभिड-१९ का अरु भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना गर्न र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्दै खोप अभियानमा सहभागी हुन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

नेपालमा ओमिक्रोन संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयमा मन्त्रिस्तरीय बैठक डाकिएको छ। यसबारेमा मन्त्रालयले सोमबारै पत्रकार सम्मेलन गरेर थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। यो भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो। आइतवार मात्रै भारतका विभिन्न प्रान्तमा १८ जनालाई यो भाइरस संक्रमण देखिएको थियो।

अहिलेसम्म यो भेरियन्ट विश्वका करिब ४० मुलुकमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट तीव्र संक्रामक भएकाले सचेत हुन आग्रह गरिसकेको छ। ‘ओमीक्रोन’ भाइरसको जोखिम बढेपछि नेपालले यसअघि नै हङकङसहित विभिन्न नौ मुलुक हुँदै आउने यात्रुलाई प्रतिबन्ध लगाइसकेको छ। ‘ओमीक्रोन’ तीव्र संक्रामक भए पनि यसबाट अहिलेसम्म कुनै पनि मुलुकमा ज्यान गएको छैन।

Post a Comment

Previous Post Next Post

Search This Blog