लामो अध्ययनपछि ओमिक्रोन भेरियन्ट बारे डब्ल्यूएचओ दियो यस्तो चेतवानी

 

लामो अध्ययनपछि ओमिक्रोन भेरियन्ट बारे डब्ल्यूएचओ दियो यस्तो चेतवानी

काठमाडौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भेरियन्ट ओमिक्रोन बारे वक्तव्य जारी गरेको छ । लामो समयको अध्ययनपछि यो तीव्र गतिमा फैलिने भेरियन्ट भएको बताएको छ । उसले यसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले यसअघिका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिइरहेको भन्दै यसलाई कम नआँक्न आग्रह गरेका छन् । ‘हामीले यसअघिका भेरियन्टमा देखेकोभन्दा फरक गतिमा ओमिक्रोन फैलिइरहेको छ’, जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘ओमिक्रोनबाट कम घातक संक्रमण होला तर संक्रमणको संख्याले पुनः एकपटक तयारी अवस्थामा नरहेको स्वास्थ्य प्रणालीलाई अस्तव्यस्त बनाउन सक्छ ।’

कतिपयले आफैं जोखिममा पर्ने गरी यो भाइरसलाई अवमूल्यन गरेको देखेको उनको भनाइ छ । गेब्रेयससका अनुसार अहिलेसम्म ७७ मुलुकमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेको छ । संभवतः ७७ भन्दा बढी मुलुकमा ओमिक्रोन पुगिसकेको अनुमान गर्दै उनले केही मानिसहरुले ओमिक्रोनलाई ‘सामान्य भेरियन्ट’ भनेर बेवास्ता गरेको गुनासो गरे ।

अबका केही दिनमै ओमिक्रोन युरोपका केही देशमा सबैभन्दा प्रभावी भेरियन्ट हुनसक्ने संकेत देखिएको पनि बताए । ओमिक्रोन पुष्टि हुनासाथ केही देशहरुले बुस्टर डोजका लागि कोरोना भाइरसविरुद्धको खोप थुपार्न थालेकोप्रति गेब्रेयससले असन्तुष्टिसमेत जनाए ।

अन्तर्राष्ट्रिय स्तरमा खोपमा देखिएको असमानता हटेपछि मात्रै महामारी अन्त्य हुने बताउँदै उनले भने, ‘हामीले असमानता अन्त्य गर्यौं भने महामारी पनि अन्त्य हुनेछ, यदि हामीले असमानता जारी राख्यौं भने महामारी पनि जारी रहनेछ ।’ तर डब्ल्यूएचओ बुस्टर डोजको विरुद्धमा नरहेको प्रष्टीकरण उनले दिए ।

Post a Comment

Previous Post Next Post

Search This Blog